
टी-२० विश्वकपमा व्यस्त नेपाली टोलीले एकदिवसीय क्रिकेटमा लय गुमाएको स्पष्ट देखिन थालेको छ। यसबाट नेपालको अगाडिको यात्रा त्यति सहज देखिँदैन।
यो शृङ्खलामा असोसिएट वर्गमा पर्ने आठ उत्कृष्ट टोलीहरू सहभागी छन्।
गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा निकै चर्चा कमाएको नेपाली टोलीका खेलाडीहरू अहिले त्यति प्रभावशाली देखिन सकेका छैनन्।विश्लेषकहरूले उनीहरूका कमजोरी केलाउन थालेका छन्।
गत वर्ष नेपालले एशिया कपमा छनोट हुँदै भारत र पाकिस्तानजस्ता टेस्ट राष्ट्रसँग पहिलो पटक खेल्न पाएको थियो। ती खेलमा नेपालले राम्रै प्रभाव पनि पार्यो।
राम्रो खेलेकाले नेपाली टोली ‘इमर्जिङ टीम्स एशिया कप’मा छनोट भयो। टी-२० विश्वकपमा छानिएर अमेरिका र वेस्ट इन्डिज पुग्यो। त्यहाँ प्रभावशाली खेल देखाएर नेपाली खेलाडीहरूले प्रशंसा पनि बटुले।
यसपालि भने नेपाली टोली सुरुदेखि नै अस्थिर देखिएको छ।नेपाल एशिया कप २०२५ र एसीसी इमर्जिङ टीम्स एशिया कप २०२४ कुनैमा पनि छनोट हुन सकेन।
गत एप्रिलमा ओमानमा छनोट प्रतियोगिताको रूपमा खेलाइएको ‘एसीसी प्रेमिअर कप’मा सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपालको एशिया कपमा पुग्ने सम्भावना टुङ्गिएको थियो।
एशिया कप छनोट हुन फाइनलमा पुग्नैपर्थ्यो। तर सेमिफाइनलमा ११९ रन मात्र बनाएको नेपाललाई यूएईले सहजै पराजित गर्यो।
एशिया कप हातबाट उम्किए पनि तेस्रो स्थानमा रहेको भए इमर्जिङ टीम्स एसिया कप २०२४ मा छानिने अवस्था थियो।
तर नेपाल हङ्कङसँग पराजित भयो। साबिक विजेता भए पनि नेपाल ‘शीर्ष तीन’मा पर्न सकेन।विश्वकप लीग-२ नेपालका लागि ठूलो मञ्च हो। तर यसमा पनि चुनौती थपिन थालेको छ।
यसपालि लीग-२ मा नेदरल्यान्ड्स, नामिबिया, स्कटल्यान्ड, ओमान, संयुक्त राज्य अमेरिका, यूएई , क्यानडा र नेपालसहित आठ टोली छन्।
‘सुपर लीग’बाट आएको नेदरल्यान्ड्सलाई शक्तिशाली राष्ट्र मानिएको छ। ‘प्लेअफ’बाट छानिएर पहिलो पटक खेलिरहेको क्यानडालाई तुलनात्मक रूपमा कमजोर ठानिएको छ।
तर नेपाल क्यानडासँगै सोमवार राति १०३ रनको फराकिलो अन्तरले पराजित भयो। उक्त खेलमा नेपालको ब्याटिङ अत्यन्त फितलो रह्यो।







